आओ, दण्डवत् गरौं र निहुरौं, हाम्रा सृष्टिकर्ता परमेश्वरकै सामु घुँड़ा टेकौं, किनभने उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, र हामी उहाँको खर्कका प्रजा, र उहाँका हातका भेड़ाहरू हौं। आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने,
भजनसंग्रह 95:6-7
कुनै पनि कुरा प्रति प्रदर्शन गरीने अधिक प्रेम, चाहना र आदरलाई समग्र रुपमा आराधना भनिन्छ। जुन कुरामा हाम्रो सबै भन्दा बढि लगाव, प्रेम, चाहना, र आदर छ त्यसैलाई हामीले आराधना गरेका हुन्छौं। परमेश्वरले हामीलाई उहाँको आफ्नो आराधना गर्नको निम्ति सृजनु भयो। तर हामीले परमेश्वरलाई नचिनेको कारणले आराधनाको निम्ति अयोग्य रहेका वस्तुहरुमा पनि आफ्नो आराधनाहरु लगाई रहेका हुन्छौं। प्रभु येशूले वास्तविक परमेश्वरसँग हाम्रो सम्बन्ध स्थापना गरिदिनु भए पछि पनि मुखले परमेश्वरको नाउँ उच्चारण गरेर हृदय भित्र सांसारीक थोकमा नै आफ्नो चाहना, प्रेम र लगाव राखिरहेका हुन सक्छौं र व्यर्थका कुरालाई आराधना गरीरहेका हुन सक्छौं। यो सबै हामीले परमेश्वरको महानतालाई नबुझेको वा मनन नगरेको कारणले हो। यदि हामीले परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, सारा संसारको मालिक हुनुहुन्छ रे हाम्रो जीवनको श्रोत हुनुहुन्छ भन्ने यर्थात थाहा गर्यौं र हृदयमा राख्यौं भनें यस संसारमा हामीले आराधना गरेका कुराहरू व्यर्थका र हाम्रो आराधनाको अयोग्य छन् भनि हामी जान्दछौं। त्यसैले परमेश्वर को हुनुहुन्छ कस्तो हुनुहुन्छ भन्ने विचार गरेर आफ्नो आराधना उहाँलाई नै चढाउँ र व्यर्थता बाट आफूलाई अलग राखौं ।
